• September 6, 2012
• by
२० प्रतिशत कैद र जरिवाना छुट-
काठमाडौँ, भदौ २१- सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सहसचिव आनन्दप्रसाद खनाल आज आफैं काठमाडौँ जिल्ला अदालतमा जरिवाना र बिगोबमोजिमको रकम बुझाई कैद भुक्तानका लागि डिल्लीबजारस्थित सदर खोर गएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले खनाललाई भ्रष्टाचारी ठहर गर्दै १५ महिना कैद तथा बिगो र बिगो बराबर जरिवानाबापत रू दुई करोड ४३ लाख चार हजार असुल गर्नुपर्ने फैसला यही भदौ १२ गते सुनाएको थियो।
फैसलामा उक्त इजलासले गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्तिबाट बढेबढाएको सम्पत्ति र ऋण सापटी दिएको रकमसमेत अन्य स्रोत खुलेको सम्पत्तिबाट जफत हुने ठहर गरेको थियो।
फैसला भएको नौ दिनपछि खनाल आज स्वयम् अदालतमा उपस्थित भई जरिवानाबापत नगद र बैङ्क ब्यालेन्ससमेत गरी रू ९७ लाख ३ हजार ६०० बुझाएको तहलसिलदार पुनाराम खनालले जानकारी दिए।
फैसला भएको ६० दिनभित्र आफैं अदालत उपस्थित भई आत्मसमर्पण गरे बिगोबाहेक २० प्रतिशत कैद तथा जरिवाना मिनाहा हुने कानुनी प्रावधानबमोजिम खनालले सो रकम बुझाएको हो।
फैसला हुनुभन्दा अघि पनि अनुसन्धानका लागि हिरासतमा बसेका पूर्व सहसचिव खनालले अब १० महिनामात्र कैद जीवन बिताउनुपर्ने पनि तहसिलदार खनालले जानकारी दिनुभयो।
यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव खनाल, उनकी श्रीमती पद्मा र तीन छोरासमेतविरुद्ध रू तीन करोड ९७ लाख ४० हजार बराबरको सम्पत्ति गैरकानुनीरूपमा आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सो मुद्दामा विशेष अदालतले रू एक करोड २० लाख २३ हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको दर्शाई बिगोबमोजिम जरिवाना र एक वर्ष कैदको निर्णय सुनाएको थियो।
यो फैसलाविरुद्ध दुबैतर्फबाट सर्वोच्चमा पुनरावेदन गरिएको थियो। रासस
Posted in: News, Politics